तिब्बतमा हिमपहिरो खसेर बाढी आएको प्रारम्भिक अनुमान छ, धेरै नागरिक बेपत्ता भएका हुनसक्छन् : शान्ति महत (अन्तर्वार्ता)
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा चीनको तिब्बतबाट आएको अकल्पनीय बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ।
बाढीको पूर्वसूचना, सम्भावित क्षति, उद्धारको तयारी र कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतसँग गरिएको कुराकानीको सम्पादित अंश:
रसुवामा यति ठूलो बाढी आयो, सरकारले यसबारे कति बजे जानकारी पायो?
नेपालतर्फ बिहान करिब ८:४० बजे बाढी प्रवेश गरेको रहेछ। हामीलाई भने बिहान ९ बजे मात्रै यसबारे औपचारिक जानकारी प्राप्त भयो।
बिहान एक पटक जिल्ला प्रशासन कार्यालय रसुवासँग सम्पर्क भएको थियो, तर अहिले त्यहाँ सञ्चार सम्पर्क विच्छेद भएको छ।
अहिले कुन-कुन जिल्लाहरू प्रत्यक्ष जोखिममा छन्?
अहिले मुख्य रूपमा रसुवा, धादिङ, चितवन र गोरखा बढी प्रभावित हुन सक्छन्। यसबाहेक बाढीको बहाव बढ्दै जाँदा तनहुँ र लमजुङसम्म पनि असर पुग्न सक्छ कि भन्ने आकलन गरिएको छ।
प्रभावित क्षेत्रमा उद्धारका लागि प्राधिकरणको तयारी कस्तो छ?
सम्भावित क्षति हुन सक्ने सबै जिल्लाहरूलाई लक्षित गरेर हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको छ। स्थलगत रूपमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भइसकेका छन्। उहाँहरूले तीव्र गतिमा खोज तथा उद्धारको काम गरिरहनुभएको छ।
बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण केही प्राप्त भएको छ?
भौतिक र मानवीय क्षतिको यकिन विवरण अहिले नै आइसकेको छैन। अहिलेसम्म ७-८ जनाको जीवितै उद्धार गरिएको छ। यद्यपि, बाढी अचानक र निकै ठूलो आएकाले धेरै मानिसहरू बेपत्ता भएको हुनसक्ने सम्भावना छ।
यति ठूलो बाढी आउनुको मुख्य कारण के हुन सक्छ? केही आकलन गर्नुभएको छ?
ठ्याक्कै यही कारण हो भनेर प्राविधिक पुष्टि त भइसकेको छैन, तर तिब्बत क्षेत्रमा ठूलो हिमपहिरो खसेको र त्यसैले भोटेकोशी थुनिएर वा गेग्रानसहित उर्लिएर नेपालतर्फ बाढी आएको हाम्रो प्रारम्भिक आकलन छ।
घटना हुनुअघि चिनियाँ पक्ष (उत्तर) बाट बाढी आउँदैछ भनेर कुनै पूर्वसूचना प्राप्त भएको थियो कि थिएन?
घटना हुनुभन्दा अगाडि त्यस्तो कुनै सूचना आएको थियो वा थिएन, मलाई अहिलेसम्म यसबारे जानकारी छैन। रसुवाका प्रमुख जिल्ला अधिकारीसँग पनि अहिले सम्पर्क हुन नसकेकाले पूर्वसूचनाको विषय यकिन हुन बाँकी छ।
भदौ १०, २०८३ बुधबार १२:३६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।