क्षतिको विवरण यकिन हुन सकेको छैन : प्रहरी प्रवक्ता काफ्ले
काठमाडाैं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुगेको क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदी आसपासका केही प्रहरी चौकीहरूसँग सम्पर्क हुन नसकेकाले क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले तत्कालै यथार्थ विवरण दिन सक्ने अवस्था छैन। “अब यस्तो छ, सम्पर्कमा नभएको कारणले अहिल्यै यही नै क्षति भयो भनेर यकिन गर्न सकिने अवस्था छैन,” उनले भने।
यद्यपि, बाढी आएलगत्तै प्रहरीले त्रिशुली र भोटेकोशी नदी आसपासका क्षेत्रहरूमा टोली परिचालन गरिसकेको छ। टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी र मेलुङलगायतका क्षेत्रमा प्रहरी टोली उच्च सतर्कताका साथ परिचालन गरिएको प्रवक्ता काफ्लेले उकेरालाई जानकारी दिए।
बाढीका कारण केही प्रहरीसमेत सम्पर्कविहीन भएका छन्। टिमुरेमा खटिएका केही प्रहरी सम्पर्कमा आए पनि स्याफ्रुबेँसी, रसुवागढी र मेलुङ क्षेत्रका प्रहरीसँग भने अझै सम्पर्क हुन नसकेको उनले जानकारि दिए। प्रहरीका अनुसार रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा खटिएका ९ जना तथा मेलुङमा कार्यरत ६ जना प्रहरी हालसम्म सम्पर्कविहीन रहेका छन्।
उनले भने, “टिमुरेमा चाहिँ केही प्रहरीहरु सम्पर्कमा आउनुभएको छ। स्याफ्रुबेँसी, रसुवागढी र मेलुङमा नौ जना कार्यरत थिए। त्यसैगरी, रसुवाको मेलुङमा छ जना थिए उनीहरु हाल सम्पर्कमा छैनन्।”
थप जनधनको क्षति हुन नदिन सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ। प्रहरीले बाढी प्रभावित क्षेत्रहरूमा सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ भने जोखिमयुक्त स्थानहरूबाट मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्न पहल गरिरहेको छ।
साथै, पृथ्वी राजमार्गको गल्छीदेखि त्रिशुली क्षेत्रसम्मका प्रहरी टोलीलाई 'हाई अलर्ट' मा राखिएको र उद्धार तथा राहत कार्यका लागि प्रहरीको विशेष रेस्क्यु टोलीलाई स्थल र हवाई दुवै मार्गबाट परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको नेपाल प्रहरीले जनाएको छ।
भदौ १०, २०८३ बुधबार १२:२८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।