रसुवा बाढी : सम्पर्कविहीन ९ सशस्त्र प्रहरीमध्ये ५ जना भेटिए, ४ अझै बेपत्ता

रसुवा बाढी : सम्पर्कविहीन ९ सशस्त्र प्रहरीमध्ये ५ जना भेटिए, ४ अझै बेपत्ता

काठमाडाैं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ड्युटीमा खटिएका ९ जना सशस्त्र प्रहरीमध्ये ५ जना सम्पर्कमा आएका छन् भने बाँकी ४ जना अझै बेपत्ता रहेका छन्।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बिहान सीमा तथा तटीय क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी टोली बाढीको चपेटमा परेका थिए।

“ड्युटीमा रहेका ९ जनामध्ये ५ जना सम्पर्कमा रहेका छन्। बाँकी ४ जना सम्पर्कमा आउनुभएको छैन,” प्रवक्ता कार्कीले उकेरालाई भने।

बेपत्ता प्रहरीहरूको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि सशस्त्र प्रहरीले काठमाडौं र चितवनबाट विशेष टोलीहरू परिचालन गरेको छ।

यस्तै, प्रवक्ता कार्कीका अनुसार सशस्त्र प्रहरीको एक टोली गाडीमार्फत क्षतिग्रस्त क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ भने कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयको टोली पनि तयारी अवस्थामा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोली तयारी अवस्थामा राखिएको छ। साथै, विमानस्थल नजिकैको विपद् व्यवस्थापन गणबाट तीन पल्टन र सशस्त्र प्रहरी मुख्यालयबाट थप तीन पल्टन उद्धारका लागि तयारी अवस्थामा रहेको प्रवक्ता कार्कीले उकेरालाई जानकारी दिए।

घाइते तथा प्रभावितहरूको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १०० बेड तयारी अवस्थामा राखिएको छ।

भदौ १०, २०८३ बुधबार १२:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।