रसुवा बाढी : रसुवातर्फ उडे सेनाका दुई हेलिकप्टर, मेडिकल टिमसहित एमआई–१७ पनि परिचालन

रसुवा बाढी : रसुवातर्फ उडे सेनाका दुई हेलिकप्टर, मेडिकल टिमसहित एमआई–१७ पनि परिचालन

काठमाडौं‌ : चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि आएको भीषण बाढीले तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको छ।

बाढीपछि रसुवाको टिमुरे र स्याफ्रुबेसीलगायतका प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा विपद् व्यवस्थापन टोली र हेलिकप्टर परिचालन गरेको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार घटनालगत्तै खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली पुगेका छन्। त्रिशूलीस्थित जिल्ला अस्पतालमा उपचार तथा स्वास्थ्य सेवामा सघाउन नेपाली सेनाको 'इमरजेन्सी मेडिकल रेस्क्यु टिम' सहितको एमआई-१७ हेलिकप्टर हेलिकप्टर प्रस्थान गरिसकेको छ।

यसैगरी, धुन्चे र त्रिशूलीस्थित ब्यारेकबाट उद्धार टोलीहरू प्रभावित क्षेत्रमा खटिसकेका छन्। धादिङको गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट समेत विपद् व्यवस्थापनमा तालिमप्राप्त दक्ष जनशक्ति परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।

हाल बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी छ। बाढीको जोखिम उच्च रहेकाले त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै, प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहकार्य गर्न सेनाले सबै सरोकारवालासँग अनुरोध गरेको छ।

भदौ १०, २०८३ बुधबार ११:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।