चार प्रदेशमा भारी वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा उच्च हिमाली भूभागमा हिमपातको सम्भावना छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
साथै, कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग र गण्डकी एवं लुम्बिनीका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत आकलन गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सम्बद्ध सबैलाई आग्रह गरिएको छ।
भदौ १०, २०८३ बुधबार ०७:१९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।