एमालेले चुनाव हार्नुको कारण सत्ता फेरबदलदेखि संगठनात्मक बेथितिसम्म

एमालेले चुनाव हार्नुको कारण सत्ता फेरबदलदेखि संगठनात्मक बेथितिसम्म

काठमाडौं : एमालेले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वमा गठन गरेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को प्रतिवेदनले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले बेहोरेको पराजयको कारण खोजेको छ।

सत्ता समीकरणमा भएको बारम्बारको फेरबदल, आन्तरिक साङ्गठनिक बेथिति र सरकारको कमजोर कार्यसम्पादन लगायतका विषयको कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।

देशभर पार्टीका नेता/कार्यकर्तासँग भेटेर सुझाव लिएपछि थापाको नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा राजनीतिक, साङ्गठनिक, शासकीय र बाह्य प्राविधिक पक्षलाई पराजयका कारक देखाइएको छ। 

माओवादी केन्द्र र कांग्रेससँग बारम्बार भइरहने सत्ता समीकरणको परिवर्तन र त्यसको राजनीतिक औचित्य पुष्टि हुन नसक्दा आम मतदातामा अविश्वास पैदा भएको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी कांग्रेससँगको सहकार्य सत्ता स्वार्थका लागि मात्र भएको भन्ने विपक्षी भाष्यलाई चिर्न नसक्नु र संविधान संशोधन जस्ता विषय ओझेलमा पर्नुलाई हारको एक कारण मानिएको छ।

पार्टीको ११औँ महाधिवेशनमा भएको प्यानलगत प्रतिस्पर्धाले तल्लो तहसम्म साङ्गठनिक कित्ताकाट र गुटबन्दी बढाएको कार्यदलको निष्कर्ष छ। उम्मेदवार चयनमा पारदर्शिताको अभाव, भूगोलमा खटिनेभन्दा नेताका निकटस्थले टिकटमा प्राथमिकता पाउनु र अन्तर्घात गर्नेहरूलाई समयमै कारबाही हुन नसक्दा साङ्गठनिक अराजकता बढेको औँल्याइएको छ।

सरकारमा रहँदा सुशासन कायम गर्न नसक्नु र विभिन्न भ्रष्टाचारका आरोपहरू लाग्दा समयमै त्यसको सशक्त प्रतिवाद हुन नसक्नुले जनतामा नकारात्मक सन्देश गएको प्रतिवेदनमा छ। रासायनिक मलको अभाव तथा उखु र दुग्ध किसानका समस्या सम्बोधन हुन नसक्दा परम्परागत जनाधार गुमेको कार्यदलले ठहर गरेको छ।

नयाँ पुस्ता (जेनजी) को मनोविज्ञान र आकांक्षा बुझ्न नसक्दा उनीहरू मूलधारको राजनीतिबाट टाढिएको प्रतिवेदनमा उल्लेख छ। विपक्षीहरूले डिजिटल माध्यम र एल्गोरिदममार्फत फैलाएको नकारात्मक प्रचारलाई चिर्न पार्टीको डिजिटल उपस्थिति कमजोर रहेको र एआईको दुरुपयोगले जनमत प्रभावित पारेको निष्कर्ष निकालिएको छ।

चीनसँगको व्यापार-पारवहन सम्झौता र चुच्चे नक्सा जस्ता देशभक्तिपूर्ण अडानका कारण बढेको भू-राजनीतिक चलखेलको मूल्य पार्टीले चुकाउनुपरेको दाबी गरिएको छ। यस्तै, नागरिकको जीवनस्तर र आकांक्षा बढे पनि सोही अनुरूप रोजगारी र आय वृद्धि हुन नसक्दा समाजमा उत्पन्न निराशालाई विपक्षीले आफ्नो पक्षमा पारेको प्रतिवेदनमा उल्लेख छ।

भदौ ९, २०८३ मंगलबार १८:५५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।