कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास छ।
महाशाखाका अनुसार अहिले देशभरको आकाशमा बादल (बदली) लागेको छ भने बागमती, गण्डकी, कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
पहाडी र तराईका धेरैजसो भू-भागमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा (ठूलो पानी पर्ने) सम्भावना रहेको छ।
आज राति पनि देशभरको मौसम बदली रहनेछ। हिमाली भेगमा हल्का हिमपात र वर्षा हुनेछ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका पहाडी तथा भिरालो क्षेत्रमा पहिरो, लेदोसहितको बाढी (गेग्रान बहाव) र भूक्षयको जोखिम रहेको छ।
यसबाट सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले सबैमा अनुरोध गरेको छ।
भदौ ९, २०८३ मंगलबार ०७:२१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।