कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं : यतिबेला देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले देशभरको आकाशमा बादल छ।
बागमती, गण्डकी र लुम्बिनीलगायत केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस, कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पानी परिरहेको छ।
आज दिउँसो देशभरको आकाशमा बादल लाग्नेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हिमपात तथा वर्षाको सम्भावना छ। पहाडी र तराईका धेरैजसो भूभागमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भने ठूलो पानी (भारी वर्षा) पर्ने अनुमान गरिएको छ।
आज राति पनि देशभरको मौसम उस्तै (बदली) रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै ठाउँमा पानी पर्नेछ।
यस्तै, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
ठूलो पानी पर्ने सम्भावना रहेका पहाडी तथा भिरालो क्षेत्रमा बाढी, पहिरो र भूक्षयको जोखिम छ।
यसले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनमै असर पर्न सक्ने भएकाले यात्रा गर्दा वा काममा निस्किँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ।
भदौ ८, २०८३ सोमबार ०६:५४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।