रातभरको खोजीपछि घरबाट हराएकी दुई वर्षीया बालिका सकुशल भेटिइन्
काठमाडौं : बाराको कलैया उपमहानगरपालिका-१ कटि पर्सा टोलबाट शनिबार साँझदेखि हराएकी दुई वर्षीया बालिकालाई प्रहरीले आइतबार बिहान सकुशल भेटिएकी छन्।
स्थानीय मुकेश कुमार मण्डलकी छोरी शनिबार साँझ करिब साढे ५ बजे आफ्नै घरबाटै हराएकी थिइन्। बालिकाकालाई नभेटेपछि हजुरबुवा मदन मण्डलले राति पौने ९ बजे अस्थायी प्रहरी पोस्ट बसपार्कमा जानकारी गराइन्।
बालिका हराएको सूचना पाए लगत्तै प्रहरीले तत्काल खोजी सुरु गरेको थियो। प्रहरीका अनुसार बालिकाको खोजीका लागि तालिमप्राप्त कुकुरसहितको रातभर टोली परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको नेतृत्वमा रहेको सुरक्षा टोलीले रातभर तीव्र खोजी अभियान चलाएको थियो। खोजतलासका क्रममा आइतबार बिहान करिब पौने ६ बजे कलैया उपमहानगरपालिका-२६ स्थित सिस्वा जाने बाटोमा बालिका सकुशल फेला परेकी थिइन्।
प्रहरीले फेला परेकी बालिकालाई आवश्यक प्रक्रिया पूरा गरी आइतबार बिहान ११ बजे उनका बुबा मुकेश र हजुरआमा सावित्रीको जिम्मा लगायो। प्रहरीले बालिका घरबाट त्यहाँ कसरी पुगिन् भन्ने विषय खुलाएको छैन।
यसअघि साउन ३१ गते बिहान साढे ८ बजेतिर बाराकै जितपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका घरबाट हराएकी थिइन्। भदौ २ गते साँझ घर नजिकैको एक खाली घरमा बलात्कार र हत्या गरिएको अवस्थामा ती बालिकालाई फेला पारिएको थियो। उक्त घटनामा प्रहरीले समयमै खोजतलासमा तदारुकता नदेखाएको भनेर विरोध भएको थियो।
भदौ ७, २०८३ आइतबार १३:४४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।