रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम : सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भयो।

मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेकी छन्।

सिम्लीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आइतबार बिहान ठक्कर दियो। 

सोही गाडीमा यात्रा गरिरहेकी आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन्। 

भदौ ७, २०८३ आइतबार ११:४१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।