जब आमाले आफ्नै शरीरको एक टुक्रा दिएर पाँच वर्षीया छोरी बचाइन्...
काठमाडौं : सन्तानका लागि आमाको माया र त्यागको कुनै सीमा हुँदैन। एउटी आमाले आफ्नो सन्तानलाई जन्म दिएर मात्र संसार देखाउँदिनन्, आवश्यक पर्दा शरीरको अंग नै काटेर जीवनदान दिन पनि पछि पर्दिनन्।
ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा एक ३३ वर्षीया आमाले आफ्नै शरीरको कलेजोको एक अंश दिएर आफ्नी पाँच वर्षीया छोरीलाई बचाएकी छन्।
आमाको त्याग, चिकित्सकहरूको खटाइ र आधुनिक चिकित्सा विज्ञानको समन्वयले ती अबोध बालिकालाई नयाँ जीवन दिएको छ।
पाँच वर्षकी ती बालिका, जसको उमेर आँगनमा खेल्ने, हाँस्ने र रमाउने थियो, अचानक जटिल स्वास्थ्य समस्याको चपेटामा परिन्।
स्वास्थ्य परीक्षणका क्रममा उनमा ‘विल्सन डिजिज’ अर्थात शरीरमा तामाको मात्रा जम्मा भई कलेजो र मस्तिष्कमा क्षति पुर्याउने दुर्लभ वंशाणुगत रोग देखियो।
रोगले बालिकाको कलेजोलाई पूर्ण रूपमा शिथिल बनाइसकेको थियो। जब उनलाई किष्ट शिक्षण अस्पताल ल्याइयो, उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक र गम्भीर थियो। कलेजो प्रत्यारोपणबाहेक उनलाई बचाउने अर्को कुनै विकल्प बाँकी थिएन।
बालिकाको स्वास्थ्य अवस्था यति कमजोर थियो कि तुरुन्तै शल्यक्रिया गर्न सम्भव थिएन। किष्ट प्रत्यारोपण केन्द्रका विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले करिब एक महिनासम्म उनलाई आईसीयूमा राखेर निरन्तर निगरानी गर्यो।
एकातिर चिकित्सकहरू बालिकाको स्वास्थ्यलाई स्थिर बनाउने प्रयासमा थिए भने अर्कोतिर ३३ वर्षीया आमा आफ्नी छोरीलाई बचाउन आफ्नो कलेजो दान गर्न हिचकिचाउने कुरै थिएन।
अन्ततः भदौ २ गते आमाको शरीरबाट कलेजोको एक भाग निकालेर पाँच वर्षीया छोरीको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरियो।
चिकित्सा विज्ञानको ठूलो चुनौती
वयस्कको तुलनामा बालबालिकामा कलेजो प्रत्यारोपण गर्नु चिकित्सा विज्ञानकै दृष्टिले अत्यन्तै जटिल, संवेदनशील र चुनौतीपूर्ण कार्य मानिन्छ।
बालबालिकाका रक्तनलीहरू अत्यन्तै सूक्ष्म हुने, एनेस्थेसिया निकै जोखिमपूर्ण हुने र शल्यक्रियापछिको सघन हेरचाह अत्यन्तै संवेदनशील हुने भएकाले यसमा उच्चतम विशेषज्ञता आवश्यक पर्छ।
किष्ट अस्पतालका अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ (हेपाटोलोजिस्ट), बालरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर टोलीको आपसी समन्वय र कुशल संयोजनका कारण यो असम्भवप्रायः लाग्ने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।
यो सफलता केवल एउटा परिवारको खुसीमा मात्र सीमित छैन, यसले नेपालको समग्र स्वास्थ्य प्रणालीमै नयाँ आशाको सञ्चार गराएको छ। अस्पतालका अध्यक्ष इन्जिनियर आशिष थापा निजी क्षेत्रबाट बालबालिकाको कलेजो प्रत्यारोपण नेपालमै हुनुलाई ठूलो गौरवको विषय मान्छन्।
उनी भन्छन्, ‘यस्ता जटिल उपचारका लागि नेपालीहरू विदेश धाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो। हामीले दक्ष जनशक्ति र पूर्वाधारमा गरेको लगानीले आज सार्थकता पाएको छ। यसले बालबालिकाका लागि थप विशेषज्ञ सेवा विस्तार गर्ने हौसला दिएको छ।’
त्यस्तै, अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापा यसलाई समग्र नेपाली चिकित्सा क्षेत्रकै माइलस्टोन मान्छन्।
‘यो सफलताले किष्टलाई बालबालिकाका जटिल रोगहरूको उपचार गर्ने एक भरपर्दो बहुविशेषज्ञ केन्द्रका रूपमा विकास गर्न मार्गप्रशस्त गरेको छ’, डा. थापा बताउँछन्।
राससमा प्रकाशित समाचार सम्पादनसहित प्रकाशित
भदौ ४, २०८३ बिहीबार ११:४५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।