पाँच प्रदेशमा भारी वर्षा र मधेसमा हुरीबतासको अलर्ट
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज पनि अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।
कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
राति पनि देशका पहाडी तथा हिमाली भूभागका साथै अधिकांश तराई (कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम) क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
पहाडी क्षेत्रमा यात्रा गर्दा पहिरो र तराईमा हावाहुरी तथा चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भदौ ४, २०८३ बिहीबार ०७:१३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।