पहिरोको जोखिमका कारण टोखा–छहरे सडक खण्डमा राति गाडी चलाउन रोक

पहिरोको जोखिमका कारण टोखा–छहरे सडक खण्डमा राति गाडी चलाउन रोक

काठमाडौं : लगातारको वर्षाका कारण सडकमा पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट नुवाकोट र रसुवा प्रवेश गर्ने मुख्य सडकमार्गको रूपमा रहेको नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै शिवपुरी गाउँपालिका वडा नं. ८ घट्टेखोला क्षेत्रमा वर्षाका कारण अचानक लेदोसहितको पहिरो आई सडक अवरुद्ध हुने जोखिम बढेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्ने जनाएको हो।

२०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्डमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवतजावत पूर्ण  रूपमा बन्द रहनेछ।

वर्षाको समयमा मानवीय क्षति न्यूनीकरण तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक वर्षाका समयमा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन तथा रातिको समयमा उक्त सडकखण्ड हुँदै यात्रा नगर्न सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ।

भदौ १, २०८३ सोमबार १७:२६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।