विपद्का कारण रोल्पामा दुई सातामै २२ जनाको मृत्यु, राहत र उद्धार तीव्र पार्न वर्षमान पुनको माग
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पछिल्लो दुई साताभित्रै जिल्लाका विभिन्न स्थानमा विपद्मा परी २२ जनाको मृत्यु भएको जानकारी दिए।
उनले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।आफूले यसबारे प्रधानमन्त्रीलाई समेत भेटेर प्रत्यक्ष ध्यानाकर्षण गराएको उनले बताए।
पुनले विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा विशेष ध्यान दिन, खोज तथा उद्धारका संयन्त्रलाई चुस्त बनाउन र प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पुर्याउन सरकारसँग माग गरे।
सडक र भौतिक पूर्वाधार पुनर्निर्माणको माग
पहिरोका कारण सुलिचौर–उवा–थवाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको भन्दै सांसद पुनले उक्त सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरे। साथै खानेपानी, सडक र पुलमा पुगेको क्षतिको शीघ्र पुनर्स्थापना गर्नुपर्नेमा उनले जोड दिए।
दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरणका लागि रोल्पाका प्रभावित क्षेत्रमा तत्काल भौगोलिक अध्ययन टोली खटाउनुपर्ने पुनको भनाइ छ। वैज्ञानिक अध्ययनका आधारमा मात्रै प्रभावित बस्तीहरूको दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणको खाका तयार पार्न सकिने भन्दै उनले सरकारलाई अविलम्ब कदम चाल्न आग्रह गरेका छन्।
भदौ १, २०८३ सोमबार १४:३९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।