कांग्रेसको वैधानिकता र नेतृत्वमा कुनै द्वविधा छैन : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको वैधानिकता, सभापति तथा केन्द्रीय समितिको विषयमा कुनै पनि प्रकारको अन्योल नरहेको बताएका छन्।
शनिबार दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगिता २०८३ का क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति शर्माले विधि र प्रक्रियापूर्वक सम्पन्न भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत मान्यता दिइसकेकाले नेतृत्वबारे अलमलिनुपर्ने अवस्था नरहेको बताए।
उनले विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर नगरेको उल्लेख गरे।
‘नेपाली कांग्रेसको सभापति को हो भनेर अलमलिनुपर्ने अवस्था छैन,’ शर्माले भने, ‘आवेगमा आएर यता नेमप्लेट राख्ने, उता नेमप्लेट राख्ने, उहाँ पनि सभापति हो, उहाँ पनि कार्यसमिति हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा खेलको नियम र विधिभन्दा बाहिरको कुरा हो।’
उनले खेलको मैदानमा नियम उल्लंघन हुँदा पहेँलो र रातो कार्ड देखाइने उदाहरण दिँदै राजनीतिमा पनि विधि र नियमको पालना हुनुपर्ने बताए।
‘खेलको मैदानमा जब कसैले गल्ती गर्छ, पहेँलो कार्ड देखाइन्छ। फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ। खेलमा एउटा विधि हुन्छ,’ उनले भने, ‘नेपाली कांग्रेसको पनि एउटा विधि छ। जसमा महाधिवेशन भयो। विशेष महाधिवेशन पालना गरेर सभापति गगन थापा हुनुभयो।’
शर्माले राजनीतिलाई पनि खेलको नियमअनुसार सञ्चालन गर्न आग्रह गर्दै विधिभित्र रहेर राजनीतिक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए।
साउन ३०, २०८३ शनिबार १७:३०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।