गैरआवासीय नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह : ‘ढुक्क भएर नेपालमा लगानी गर्नुहोस्’
काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन्।
चीनको ग्वाङ्झाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरे।
“सरकारले लगानीको माहोल बनाइरहेको छ। देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ”, उनले भने, “एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ। त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु।”
वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गरे।
“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्”, उनले भने, “सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ। बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ।”
वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए। सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ। बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उनले उल्लेख गरे।
साउन ३०, २०८३ शनिबार १७:१०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।