नुवाकोटमा रोकिएको बस आफैँ गुड्दा दुर्घटना: दुई तीर्थयात्रीको मृत्यु, तीन घाइते

नुवाकोटमा रोकिएको बस आफैँ गुड्दा दुर्घटना: दुई तीर्थयात्रीको मृत्यु, तीन घाइते

नुवाकोट : नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिएर राखिएको बस आफैँ गुड्दा भएको दुर्घटनामा दुई तीर्थयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुप्चेश्वर महादेवको दर्शनका लागि आएका यात्रु बोकेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस सडक छेउमा रोकेर चालक र यात्रुहरू खाजा खान गएका बेला अचानक आफैँ गुडेको थियो। अनियन्त्रित भई गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको इभी भ्यानलाई समेत ठक्कर दिँदै दुवै सवारीसाधन सडकबाट करिब ५० मिटर तल खसेका थिए।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार दुर्घटनालगत्तै उद्धार गरी घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएकोमा दुई जनाको अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–८ का ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ का २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० का ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर का ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएकाले थप उपचारको लागी काठमाडौं पठाइएको छ।

दुर्घटनापश्चात् बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ।

साउन ३०, २०८३ शनिबार १५:३४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।