शिवपुरीमा रोकिराखेको बस र माइक्रोबस भिरबाट खस्दा पाँच जना घाइते
नुवाकोट : काठमाडौंबाट नुवाकोटको धार्मिक स्थल दुप्चेश्वर दर्शनका लागि जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई अर्को विद्युतीय गाडी (ईभी) लाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित थानाभञ्ज्याङमा आज बिहान करिब ८:२५ बजे उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा प्रवक्ता इकबाल हवारीका अनुसार यात्रुहरूलाई खाजा खुवाउनका लागि सडक छेउमा रोकिराखेको बा.प्र. ०१-००६ ख ५२०२ नम्बरको बस अचानक आफैँ गुडेर अगाडि बढेको थियो।
अनियन्त्रित भएर गुडेको उक्त बसले अगाडि रोकिराखेको बा.प्र. ०३-००८ च ११७६ नम्बरको ईभीलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै सवारीसाधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका हुन्।
दुर्घटनाको समयमा अधिकांश यात्रुहरू खाजा खानका लागि गाडीबाट बाहिर झरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बसभित्रै बसिरहेका ५ जना महिला यात्रु भने घाइते भएका छन्। ठक्कर खाएको ईभी गाडी भने पूर्ण रूपमा खाली थियो।
दुर्घटनामा एक जनाको मृत्यु भएको हल्लाबारे सोध्दा डीएसपी हवारीले उकेरासँग भने, ‘घटनास्थलमा पाँच जना घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि पठाइएको छ। कसैको पनि मृत्यु भएको छैन।’
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पठाइएको डीएसपी हवारीले जानकारी दिए।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
साउन ३०, २०८३ शनिबार ०९:३८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।