बागमती र गण्डकीसहति यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौं : यतिबेला देशभर मनसुन पुनः सक्रिय भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी रेखा (न्यून चापीय रेखा) नेपालको नजिकै सरेकाले देशका अधिकांश भागमा मौसम बदली भई वर्षा भइरहेको छ।
शनिबार दिउँसोभरि नै देशभरिको मौसम साधारणतया बदली रहनेछ। अहिले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने तराईका केही भागमा मौसम आंशिक रूपमा मात्र खुलेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली जिल्लाका साथै तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका केही स्थानमा भने हिमपातसमेत हुन सक्नेछ।
कहाँ-कहाँ छ भारी वर्षाको जोखिम ?
विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका केही (पहाडी र तराई) ठाउँमा आज दिउँसो भारी वर्षाको सम्भावना छ।
रातिको समयमा पनि बागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा भारी वर्षा हुन सक्नेछ। राति पहाडी भेगमा वर्षा जारी रहे पनि तराईमा भने मौसम सामान्य खुल्दै जाने महाशाखाको पूर्वानुमान छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, भूक्षय र डुबानको उच्च जोखिम हुन्छ। यसले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र समग्र दैनिक जनजीवनमै असर पार्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
साथै, लामो यात्रा गर्नुअघि वा नदी तटीय क्षेत्रमा जाँदा मौसमको पछिल्लो जानकारी लिएर मात्र निस्कन अनुरोध गरिएको छ।
साउन ३०, २०८३ शनिबार ०७:१९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।