नुवाकोटको ककनीमा ढलेको बिजुलीको पोलबाट करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोटको ककनीमा ढलेको बिजुलीको पोलबाट करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोट : ककनी गाउँपालिकामा वर्षाका कारण सडकमा ढलेको बिजुलीको पोलबाट करेन्ट लाग्दा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा ककनी गाउँपालिका-१, जलकिनी निवासी करिब ४८ वर्षीय आइतराम बलामी रहेका छन्। प्रहरीका अनुसार सोमबार साँझ करिब साढे ६ बजे बलामी आफ्नो घरबाट खेतबारीतर्फ जाँदै थिए।

सोही क्रममा घरभन्दा करिब ५० मिटर पश्चिम सडकमा वर्षाका कारण ढलेर रहेको बिजुलीको पोल र तारबाट उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको हो।

घटनालगत्तै प्रहरी चौकी ओखरपौवा र ककनीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।

घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) पठाइएको प्रहरीले जनाएको छ।

साउन २९, २०८३ शुक्रबार ०९:४७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।