काभ्रेको पाँचखालमा स्कुटर दुर्घटना : काठमाडौंका रवि सिम्खडाको मृत्यु, पैदलयात्री घाइते

काभ्रेको पाँचखालमा स्कुटर दुर्घटना : काठमाडौंका रवि सिम्खडाको मृत्यु, पैदलयात्री घाइते

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका-४, तामाघाट बजारमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक पैदलयात्री घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-४, थली बस्ने ४० वर्षीय रवि सिम्खडा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका सिम्खडाको धुलिखेल अस्पतालमा उपचारका क्रममा राति सवा ८ बजे निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०१-०१६ प ७३१८ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएको थियो।

स्कुटरको ठक्करबाट पाँचखाल-४ का ५५ वर्षीय स्थानीय पैदलयात्री साइँलो दनुवार घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र धुलिखेल अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ।

घटनालगत्तै प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पुर्याएको थियो। दुर्घटनाग्रस्त स्कुटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २९, २०८३ शुक्रबार ०९:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।