आज कर्णाली र सुदूरपश्चिममा ‘धेरै भारी वर्षा’को सम्भावना, ५ प्रदेशमा सतर्क रहन आग्रह
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ औसत स्थान वरपर र पश्चिमतर्फ औसतभन्दा उत्तर (नेपालको भू-भाग नजिक) अवस्थित छ। यसका कारण विशेषगरी पश्चिम नेपालमा वर्षाको प्रभाव बढी देखिने सम्भावना छ।
हाल मधेश, कोशी, बागमती र गण्डकी प्रदेशबम आकाशमा बादल रहेको छ भने बाँकी प्रदेशहरूमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने पश्चिमका पहाडी भेगमा ‘धेरै भारी वर्षा’ हुने पूर्वानुमान छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरू, कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरू तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै ठाउँ तथा मधेश, कोशी, बागमती र गण्डकीका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा बागमतीको पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा ‘धेरै भारी वर्षा’ हुनसक्ने चेतावनी छ।
राति उच्च पहाडमा हिमपातको पनि सम्भावना रहँदा देशभर बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुनेछ।
त्यसैगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले पहिरो, गेग्रान बहाव र खोलानालामा आकस्मिक बाढी आउन सक्छ। यात्रा गर्दा र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
साउन २९, २०८३ शुक्रबार ०७:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।