टिपर दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार अपराह्न मानेश्वरबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड टिपर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। दुर्घटनाका क्रममा ज्यान बचाउन सडक छेउतर्फ हाम फालेका स्थानीय २९ वर्षीय राजु लामा सोही टिपरले च्यापिएर गम्भीर घाइते भएका थिए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो। उपचारकै क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
टिपर काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएका थिए। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ। दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ।
साउन २८, २०८३ बिहीबार १२:०२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।