रोल्पाको थवाङमा पहिरो : ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता

रोल्पाको थवाङमा पहिरो : ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता

रोल्पा : रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

पहिरोमा पुरिएका १० जनामध्ये स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेसँगै मृतकको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

यसअघि ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरको शव फेला परेको थियो।

पहिरोमा पुरिएर हालसम्म ९ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर, ६७ वर्षीया हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन्। अविरल वर्षासँगै आएको पहिरोले थबाङ गाउँपालिका–५ कोटलबाराका ६ वटा घर तथा गोठ पुरेको छ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थल पुगी बेपत्ताहरुको खोजीकार्यमा संलग्न रहेकोे जानकारी दिइएको छ।

साउन २८, २०८३ बिहीबार १०:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।