बाह्रबिसेमा अनियन्त्रित टिपर पल्टिँदा च्यापिएर एक जनाको मृत्यु

बाह्रबिसेमा अनियन्त्रित टिपर पल्टिँदा च्यापिएर एक जनाको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८, मानेश्वरामा आइतबार साँझ टिपर दुर्घटना हुँदा त्यसमा सवार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे-८ का २९ वर्षीय राजु लामा रहेका छन्।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार, ढुङ्गा बोकेर मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको टिपर साँझ करिब ६:५० बजे भित्री सडक खण्डमा अनियन्त्रित भएको थियो।

दुर्घटना हुने डरले टिपरमा सवार लामाले सडकको छेउमा हाम फालेका थिए। तर, विडम्बना हाम फालेकै दिशामा टिपर पल्टिँदा उनी त्यहीँ च्यापिन पुगेको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट इन्स्पेक्टर कृष्ण खड्काको कमान्डमा खटिएको टोलीले उनलाई उद्धार गरेको थियो।

च्यापिएर गम्भीर अवस्थामा रहेका लामालाई उपचारका लागि तत्काल बाह्रबिसे नगर अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई साँझ ७:४५ बजे मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ का २५ वर्षीय अनिस पाण्डेलाई नियन्त्रणमा लिएको छ।

राति नै मृतकको पोस्टमार्टम गरी उनका बुवा हिराबहादुर तामाङलाई बुझाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २८, २०८३ बिहीबार १०:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।