सक्रिय मनसुन : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सक्रिय मनसुन : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा आफ्नो सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने मधेस, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मौसम साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। त्यसैगरी, मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। ती प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका एक-दुई स्थानमा समेत राति वर्षा हुने महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भन्दै महाशाखाले ती क्षेत्रका बासिन्दा तथा यात्रुलाई आवश्यक सावधानी अपनाउन विशेष अनुरोध गरेको छ।

साउन २८, २०८३ बिहीबार ०७:०३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।