पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी-पहिरोबाट जोगिन सतर्कताको आग्रह

पाँच प्रदेशमा वर्षाको सम्भावना, बाढी-पहिरोबाट जोगिन सतर्कताको आग्रह

काठमाडौं : देशभर अहिले मनसुन सक्रिय रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ।

आज दिउँसो देशभरका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली (बादल लाग्ने) रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति पनि देशभरको मौसम पूर्ण रूपमा खुल्ने छैन। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा राति पनि पानी पर्ने अनुमान गरिएको छ।

लगातारको वर्षाका कारण नदीमा जलस्तर बढ्ने, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।

खराब मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सुझाएको छ।

साउन २७, २०८३ बुधबार ०७:०३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।