म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा सुक्खा पहिरो : सुरक्षागार्डको मृत्यु, विद्युत् उत्पादन ठप्प
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा सुक्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक प्राविधिक घाइते भएका छन्। अर्का एक जनालाई भने सकुशल उद्धार गरिएको छ।
साउन २६ गते बिहान ३:३५ बजे विद्युत्गृहमाथिबाट खसेको ढुङ्गा–माटोसहितको पहिरोमा पुरिएर अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय सुरक्षागार्ड दीपक बरुवाल (खेमराज) को घटनास्थलमै मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले डोजरको प्रयोग गरी करिब एक घण्टापछि बरुवालको शव निकालेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। शवलाई परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
झ्यालबाट हाम फालेर ज्यान जोगाए
विद्युतगृहमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि झ्यालबाट हाम फालेर भाग्ने क्रममा घाइते भएका इलेक्ट्रिकल ओभरसियर गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विकको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ।
सिफ्ट इञ्चार्जसमेत रहेका अर्का इलेक्ट्रिकल ओभरसियर पाल्पाको निस्दी गाउँपालिका–५ का २४ वर्षीय छविलाल अर्यालले विद्युत्गृहमा थुनिएको अवस्थामा रसिको सहायताले बाहिर निस्कन सफल भएको बताए।
“कन्ट्रोल रुममा डियुटी गरिरहेको अवस्थामा खस्याक्क गरेको आवाज आएपछि भुईतलामा रहेका सुरेन्द्रलाई खबर गरेर भाग्दा भाग्दै १० सेकेण्डले पहिरोबाट बचे,” उनले भने, “झ्यालबाट हाम फालेर क्याम्पमा पुगेका सुरेन्द्रले साथी र सुरक्षाकर्मीलाई खबर गरेपछि बिहान ४ बजेतिर मलाई रसी दिएर बाहिर निकाल्नुभएको हो। चोटपटक नलागेपनि पहिरोले पुरिएको विद्युतगृहभित्र २०–२५ मिनेट के–भयो केही पत्तै पाइन, नयाँ जिवन पाएको महशुस गरेको छु।”
आयोजनाको उत्पादन बन्द
म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेपछि उत्पादन बन्द भएको छ ।
पहाड काटेर बनाइएको विद्युतगृह भन्दा माथि रहेको पहाड भत्किएर पहिरो खसेको छ। अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमाना कुरिलाबगरमा बाँध रहेको आयोजनामा तीन हजार ५०० मिटर लामो सुरुङबाट ल्याइएको पानी ४८५ मिटर उचाईबाट एक हजार २०० मिटर लामो पेनस्टक पाइपमार्फत विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिएको थियो।
विसं २०७४ देखि निर्माण सुरु भई विसं २०८० असार महिनादेखि विद्युत् उत्पादन थालेको आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने अन्तिम तयारीमा रहेको अवस्थामा प्राकृतिक विपद्का कारण क्षति ब्यहोर्नुपरेको हो। प्रहरी निरीक्षक तिमिल्सिनाले आयोजनामा पुगेको क्षतिको मूल्याङ्कन सुरु गरिएको र पूर्ण विवरण आउन केही समय लाग्ने बताए।
साउन २६, २०८३ मंगलबार १७:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।