एनसेल सेयर खरिद-बिक्रीसम्बन्धी समितिको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्नेसहित पाँच निर्णय गरेको छ।
बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिको एनसेलको सेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको हो।
त्यस्तै नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत गरेको छ। त्यसैगरी, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ।
साउन २६, २०८३ मंगलबार १७:०७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।