अनशनरत विनय यादवको स्वास्थ्यप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सरकारसँग भएको सहमति कार्यान्वयनलगायतका माग राखेर माइतीघरमा आमरण अनशनमा बसेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ।
आयोगले मंगलबार एक प्रेस-विज्ञप्ति जारी गर्दै अनशनरत यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्यउपचारका लागि पहल गरी उनको जीवन रक्षा गर्नुका साथै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको हो।
यादव विगत १२ दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा छन्। आयोगले अनशनस्थलमै पुगेर यादवको स्वास्थ्य अवस्था तथा त्यहाँ उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे जानकारी लिएको जनाएको छ।
आयोगका अनुसार अनुगमनका क्रममा यादवको शरीरमा सुगर र रक्तचापको मात्रा घट्दै गएको र लामो समयको अनशनका कारण अवस्था गम्भीर बन्दै गएको पाइएको छ। अनशन सुरु भएको १२ दिन बितिसक्दा समेत नेपाल सरकारको तर्फबाट स्वास्थ्य उपचार वा वार्ताका लागि कुनै पहल नभएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारको पहल गरी निजको जीवन रक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।"
साउन २६, २०८३ मंगलबार १३:४०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।