आज राति विभिन्न प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागको नजिक र पूर्वी भूभागको सरदर स्थान आसपास छ।
यसकै प्रभावले अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने तराईका केही क्षेत्रमा आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्नेछ।
कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा दिउँसै भारी वर्षाको सम्भावना छ।
आज राति मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ। राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यी मध्ये केही स्थानमा ‘धेरै भारी’ वर्षासमेत हुनसक्ने मौसम बुलेटिनमा उल्लेख छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा भने मध्यम वर्षा हुनेछ।
लगातारको वर्षा र भारी वर्षाका कारण गेग्रान बहाव (पहिरो), बाढी र भूक्षयको उच्च जोखिम छ।
यसबाट सडक तथा हवाई यातायात, पर्यटन, कृषि र दैनिक जनजीवन नै प्रभावित हुनसक्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
साउन २६, २०८३ मंगलबार ०७:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।