ढल्केबर ट्रमा सेन्टर नरोकिने मन्त्री मेहताको प्रष्टीकरण, तत्काल सेवा दिन लहानमा ट्रमा युनिट
काठमाडौं : धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।
उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ‘ट्रमा युनिट’ सञ्चालन गर्न लागिएको बताइन्।
सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी हुन्।
मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ।
लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैङ्कलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको उनले बताइन्।
“लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन”, मेहताले भनिन्, “नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।”
उनले एक ठाउँमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन्। सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनको भनाइ छ।
“हाम्रो उद्देश्य एउटै हो- दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाउन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्”, मेहताले भनिन्।
उनले ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्नसमेत आग्रह गरिन्।
साउन २५, २०८३ सोमबार १८:५६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।