किसानलाई रासायनिक मलको सहज आपूर्ति गराउन सरकारसँग प्रचण्डको आग्रह
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै प्रचण्डले किसानहरू मलको अभावका कारण ठूलो समस्यामा परेको बताए।
उनले सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको बताए।
उनले भने, "यतिखेर रोपाइँ सकिँदा समेत मधेश लगायत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेका छन्। सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन।"
उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण वास्तविक किसानसम्म न्यायोचित ढङ्गले पुग्न नसकेको गुनासो व्यापक रूपमा आएको उनले उल्लेख गरे।
"उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ," उनले भने, "हाम्रो सन्दर्भमा मल आयातको प्रक्रिया जटील रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक हुन्छ।"
नेपालमा मल आयातको कानुनी तथा प्रशासनिक प्रक्रिया जटिल हुने भएकाले समयमै पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिएका छन्। आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले मलको गम्भीरता बुझेर समयमै आपूर्ति, वितरण तथा आगामी आर्थिक वर्षका लागि बजेटसमेत सुनिश्चित गरेको उनले दाबी गरे।
प्रचण्डले रासायनिक मलको आयात प्रक्रिया तत्काल सम्पन्न गरी पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै, आगामी वर्षका लागि अहिल्यैदेखि पूर्वतयारी थाल्न र बजारमा भइरहेको कालोबजारी तथा बिचौलियाको प्रभावलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न समेत उनले आग्रह गरेका छन्।
साउन २५, २०८३ सोमबार १३:२०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।