अन्तिम सुरक्षा परीक्षणपछि साउनभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ने

अन्तिम सुरक्षा परीक्षणपछि साउनभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ने

काठमाडौं : औपचारिक उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि सञ्चालनमा ल्याइने भएको छ। 

हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.शुभराज न्यौपानेका अनुसार सुरुङमार्ग सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ ।

उनले भने, "अहिले सुरुङमार्ग आकस्मिक सवारीसाधनका लागि मात्र सञ्चालनमा छ। अब सबैका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण हुँदैछ।" 

सुरुङभित्र आगलागी वा अन्य कुनै आपतकालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा पूर्वअभ्यास तथा अध्ययन भइरहेको उनले जानकारी दिए। विशेषगरी बसमा ठूलो संख्यामा यात्रु सवार रहेका बेला आगलागी भएमा उनीहरूको उद्धार कसरी गर्ने भन्ने अभ्यास परीक्षणको मुख्य विषय रहेको उनले बताए ।

सामाजिक सञ्जालमा देखिएका ब्यारिकेड तथा ड्रमहरू सुरक्षा परीक्षणकै तयारीका क्रममा राखिएको उनले बताए। 

उनले भने, " भित्र आगो लागिहाल्यो भने कसरी उद्धार गर्ने भन्ने विषयमा परीक्षण गरिरहेका छौं। उदाहरणका लागि ५० जना मान्छे चढेको बसमा आगो लाग्यो भने कसरी रेस्क्यु गर्ने भन्ने विषयमा अध्ययन गरिरहेका छौं। एयरपोर्टमा कहिलेकाहीँ देखाउँछ नि इमर्जेन्सी टेस्टहरु त्यस्तै सुरुङ मार्गमा पनि गर्नुपर्नेछ। त्यो एउटा टेस्ट बाँकी रहेकाले सबैलाई खुला नगरिएको हो। त्यो टेस्ट हुने बित्तिकै सबैको लागि ओपन हुन्छ । त्यहाँ हाल राखिएका सामग्री सुरक्षा परीक्षण तथा तयारीका लागि राखिएको हो।"

अन्तिम सुरक्षा परीक्षण सम्पन्न भएपछि सुरुङमार्ग सबैका लागि खुला गरिने र त्यसका लागि साउन महिनाभित्रैको समयसीमा राखिएको प्रवक्ता न्यौपानेले बताए।

उक्त नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनको दोस्रो साता औपचारिक रूपमा गरिएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबिच सुरुङमार्गको औपचारिक उद्घाटन भएको हो।

सात वर्षपछि उद्घाटन भएको सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

साउन २५, २०८३ सोमबार १३:०९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।