सभापति रविले रफ्फु भर्न नसकेको प्रधानमन्त्री वालेन्द्रको ‘एक्लो लडाइँ’

सभापति रविले रफ्फु भर्न नसकेको प्रधानमन्त्री वालेन्द्रको ‘एक्लो लडाइँ’

काठमाडौं : शुक्रवारको प्रतिनिधि सभामा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसदहरूले सरकारको कार्यशैलीको आलोचना गरे। शुक्रवार मध्यरातै प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा लेखे “कहिलेकाहीँ एक्लै लड्नुपर्छ।”

सुनसरी घटनापछि सरकारको सक्रियता, सुरक्षाकर्मीको गोली प्रहारबाट चार जनाको मृत्यु भएको घटनासँगै एकाएक खाना पकाउने ग्याँसको हाहाकारले सरकारको आलोचना बढिरहेको बेला सत्ताधारी दलकै सांसदहरू सरकारको कार्यशैलीप्रति असन्तुष्ट मात्र हैन आक्रामकहुँदै आफ्नो गालामा आफैँले चड्कन हान्ने बेला आएकोसम्म भने।

मध्यरात प्रधानमन्त्री वालेन्द्रले फेसबुकमा लेखे “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।”

वालेन्द्र शाह एक सय ८२ सहितको प्रचण्ड बहुमतबाट प्रधानमन्त्री चयन भएका हुन्। डीपी अर्याल सभामुख भएपछि पनि अहिले सरकारको साथमा एकल दलको १ सय ८१ सांसदको समर्थन रहेको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले फेसबुकमा लेखेको ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने भनाइबारे सामाजिक सञ्जाल अनि राजनीतिक मञ्चमा तर्कवितर्क चलिरह्यो।

रास्वपा सांसद मनिष झाले शनिवार प्रधानमन्त्री वालेन्द्रको एक्लै लड्नु पर्छ भन्ने भनाइप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेखे “परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।”

शुक्रवार झाले प्रतिनिधि सभामा सरकारको आलोचना गर्दै इन्ट्रिग्रिटी र इन्टेनसमा शंका नरहेको तर ढङ्ग पुगेन भन्ने देखिएको भन्दै कमजोरी स्वीकार गर्नुपर्ने बताएका थिए।

शनिवार उनले लेखे थप लेखे “यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।”

शनिवारै रुपन्देही पुगेका रास्वपाका महामन्त्री विपिन आचार्यले देश एक्लैले बन्न नसक्ने बताए। भने ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन। देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ।”

उनको यो अभिव्यक्ति पनि प्रधानमन्त्रीको उही एक्लै लड्नु पर्छ भन्ने भनाइप्रति नै लक्षित देखियो। यसले पार्टीभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र समूहबीच मनमुटाब र आन्तरिक रूपमा विवाद बढ्दै गएको देखियो।

त्यसपछि शनिवारै पार्टी सभापति लामिछाने समेत यसबारे बोल्न बाध्य भए। उनले शनिवार एक कार्यक्रममा आफ्नै पार्टीका सांसदहरूबाट सरकारबारे भइरहेको आलोचना र प्रधानमन्त्रीको एक्लै लड्ने धारणालाई बादलभित्र जहाज छिर्दा हल्लिए जस्तै हो भने। बालभित्र जहाज छिर्दा हल्लिँदैमा दुर्घटनामा भयो भनेर डर मान्नु नपर्ने उनको धारण थियो।

उनको यो धारणाले नै जहाज अर्थात् सरकार केही हल्लिरहेको र कतै सरकारको नेतृत्व बदल्ने अभ्यास भइरहेको हो कि भन्ने शंका केवल शंका मात्र हैन भन्ने देखायो नै। तर उनले सकेसम्म सरकार र पार्टीबीचको खटपटको प्रतिरक्षा गर्दै केही गडबड भयो कि, झगडा पो पर्यो कि भनेर ह्युमरहरू आउने र त्यसलाई विकेन्डको स्न्याक्सको रूपमा ग्रहण गर्न आग्रह गरे।

“ह्युमरहरु स्न्याक्स मात्रै हो। त्यसको भ्यालु त्यो भन्दा बढी केही पनि छैन। हामीले एक मान्छेले अर्को मान्छेलाई प्रमिस गरेको होइन, हामीले हिस्ट्रिलाई प्रमिस गरेको हो। त्यसकारणले आफ्नो वाचा, प्रतिबद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन” उनले दाबी गरे।

उनले सरकारले आफ्नो वाचा लक्ष्य अनुसार काम गर्ने र सरकारले काम गरेन भने र बाटो बिरायो भने सरकारलाई जतिबेला पनि कान समाउने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्ने बताए।

“त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न पनि दिँदैनौँ। यदि लिकबाट बाहिर गयो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ” उनले दाबी गरे।

बढ्दो आलोचनाले सहकार्यमा बढाएको शंका

प्रधानमन्त्रीमा वालेन्द्र अनि पार्टी नेतृत्वमा रवि लामिछानेको भन्दै रास्वपा २०८३ फागुन २१ को निर्वाचनमा सक्रिय भएको थियो। रास्वपाका नेताहरूले आफूहरूलाई बहुमत दिए सय दिनमै सरकार कसरी चलाउने हो देखाउने दाबी गरेका थिए।

उनीहरूको माग मतदाताले स्वीकार गरे। १३८ को एकल बहुमत मात्र हैन झन्डै दुई तिहाइको १८२ सिटमा जिताए। सर्त अनुसारै वालेन्द्र प्रधानमन्त्री भए। तर सय दिन कट्दा निर्वाचनमा दाबी गरे जस्तो सक्रिय सरकारको मोडल देखिए। प्रधानमन्त्री वालेन्द्रमा लोकतान्त्रिक आचरण र व्यवहार देखिएन।

संसदमा सकेसम्म नजाने, गए पनि नबोल्ने, मन लागेको समयसम्म बस्ने र बाहिरिने, संसद्को नियमावली अनुसार हरेक महिनाको पहिलो हप्ता हुनुपर्ने सांसदसँगको प्रश्नोत्तरमा सहभागी नहुने, अन्तर्क्रिया नगर्ने जस्ता वालेन्द्रको  व्यवहारले आलोचनाको शूरुवात गर्यो। 

सय दिनमा सम्पन्न गर्ने दाबी गरेर आफैँले सार्वजनिक गरेको सय वटा सूचीमा जम्मा १६ वटा मात्र काम गरेर सय दिनमा सरकार जस्ट पास पनि हुन सकेन। पार्टीका महामन्त्री आचार्यले सार्वजनिक रुपमै सय दिनमा सरकार सफल हुन नसकेको प्रतिक्रिया दिए। यसले सरकारमा रहेकाहरुलाई रक्षात्मक बनाउँदै लग्यो।

प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकार,मन्त्री र सहयोगीहरूको बदमासी प्रमाणसहित सार्वजनिक भए। गृहमन्त्री सुधन गुरुङको शंकास्पद पृष्ठभूमीसँगै उनको सम्पत्ति विवरणबारे उठेका प्रश्नमा राजीनामा गराएर छानबिन त भयो तर प्रतिवेदन सार्वजनिकै नगरी पुन मन्त्रीमा फर्काइयो। 

प्रमुख सल्लाहकार कुमार बेन भनिने कुमार व्यञ्जनकार कल बाइपासको बंगलादेशी गिरोहसँगै पक्राउ परेको र कानुनी परीक्षण नभई सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेको प्रमाण सार्वजनिक भयो।

पूर्वाधार विकासमन्त्री रहेका सुनिल लम्सालको निर्माण सम्बन्धी कम्पनीले एन्फाका पदाधिकारीसँगको मिलेमतोमा खेलको व्यवस्थापनदेखि टिकेटिङसम्मको टेन्डर पाएको प्रमाण सार्वजनिक भए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तदेखि आयुक्तहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर सहयोगीहरूले थर्काएर राहदानी छपाइको टेन्डरको अनुसन्धान र अभियोजन गराउँदै एक कम्पनीको पक्षमा लबिङ गरेको सार्वजनिक भएपछि उनको सचिवालय र सल्लाहकार टिमको आचरणबारे गम्भीर बहस सुरु भयो।

यसमैमा थपिएको कुमार व्यञ्जनकारले गोप्य रूपमा गरेको भारत भ्रमण। अनि सुनसरीदेखि सिरहासम्म फैलिएको हिंसात्मक घटना नियन्त्रणमा सरकारले देखाएको उदासीनता र सुरक्षाकर्मीको गोली प्रहारबाट चार नागरिकको ज्यान जाने घटनाले सरकारलाई थप रक्षात्मक बनायो। दलका नेता अनि सांसदहरूलाई पनि आफ्नो दलको नेतृत्वको सरकारको प्रतिरक्षा गर्न गाह्रो पर्दै गयो।

नागरिकले पाउने सुविधा लाइनबाट अनलाइन बनाउने दाबी गरेकोमा राहदानीदेखि लिएर लाइसेन्स विवरणसम्मका कारण भद्रगोल भयो। यहीबीचमा सडक किनारमा २०७२ को नाकाबन्दी समान खाना पकाउने ग्याँसको लाइन सुरु भएपछि दलका सांसद र नेताहरू बिस्तारै सार्वजनिक मञ्च हुँदै सांसदसम्म सरकारप्रति नै आलोचक बन्न थाले।

संयोग वा रणनीति, यसरी संसद् र सार्वजनिक मञ्चबाट सरकारको आलोचनामा सक्रियहरू पार्टी सभापति लामिछाने निकटहरूको बाहुल्यता देखियो। यसको प्रभाव कुनै न कुनै रूपमा सरकारको नेतृत्व र पार्टीको नेतृत्वबीचको सम्बन्धको न्यानोपनाको कमी देखियो नै।

त्यसमा गुटहीन रुपमा गर्ने भनिएको पार्टीको पहिलो महाधिवेशनबाट पार्टीभित्रको गुट छरपस्ट भयो। महाधिवेशनमा प्रस्ट रवि समूह र बालेन समूह देखियो। त्यसमा पार्टीको विधानमा संसदीय दलको नेताबारे राखिएको प्रवधानले दुबै समूहबीच शंका बढाउँदै लगेको सार्वजनिक भयो।

प्रधानमन्त्री वालेन्द्रले शुक्रवार बेलुका फेसबुकमा “कहिलेकाहीँ एक्लै लड्नुपर्छ” लेखेर सरकारमा आफू एक्लिँदै गएको संकेत गरे। रवि निकटका महामन्त्रीले कसैले एक्लै देश बनाउन नसक्ने सार्वजनिक मन्तव्य दिए। अनि यी सबै घटनाक्रममा रप्फु भर्न पार्टी सभापति रविले ‘बादलभित्र जाँदा प्लेन हल्लिए जस्तो मात्रै हो’ त भने तर “आफ्नो वाचा, प्रतिबद्धताबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन” भन्ने अभिव्यक्तिले प्रधानमन्त्री वालेन्द्रको एक्लो लडाइँको रफ्फु भर्न भने सकेनन्।

साउन २३, २०८३ शनिबार २३:०९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।