एमाले महासचिवको आत्मसमीक्षा : 'जनताको मन पढ्न छाडिसकेछौँ'
काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रको गम्भीर कमजोरी औँल्याउँदै मञ्चबाटै आत्मसमीक्षा गरेका छन्। जनताको मन र उनीहरूका वास्तविक समस्या बुझ्न छाडेकै कारण पछिल्लो निर्वाचनमा पार्टीका आन्तरिक आकलन र रिपोर्टिङहरू गलत साबित भएको उनले स्वीकार गरे।
शनिबार आयोजित ‘मिसन पार्टी जागरण–२०८३’ अन्तर्गतको विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले निर्वाचनको नतिजाले पार्टीलाई ऐना देखाएको बताए।
उनले भने, "चुनावको नतिजा हेर्दा थाहा भयो, जनताको मन पढ्न हामीले छाडिसकेका रहेछौँ। जनताको कुरा बुझ्न छाडिसकेका रहेछौँ। जनताको मन पढ्न सकेको भए, कुरा बुझ्न सकेको भए हाम्रा रिपोर्टिङहरू असफल हुने थिएनन्। जनताको मन पढ्न नसकेको परिणाम के भयो भने हाम्रा रिपोर्टिङहरू गलत साबित भए।"
उनले तल्ला कमिटीबाट आउने रिपोर्टिङ र वास्तविक जनभावनाबीच ठूलो दूरी देखिएकाले नै चुनावी परिणामले सोचेजस्तो नतिजा दिन नसकेको बताए। केवल औपचारिक सम्पर्क वा भेटघाटले मात्र जनताको मन जित्न नसकिने भन्दै उनले जनताका दैनिक सरोकार, पीरमर्का र समस्या पहिचान गरी त्यसको समाधानमा एमालेले नेतृत्व लिनुपर्ने बताए।
पोखरेलले जनताको मन बुझ्न सक्नेगरी पार्टीको संरचना र सञ्जाल निर्माण गर्नुपर्ने बताए। पार्टीको अभियानकै क्रममा यसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ।
महासचिव पोखरेलले वर्तमान परिस्थिति र समाजको सापेक्षतामा पार्टीका नीतिहरूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिए। पार्टीका नीतिलाई आजको समाजले बुझ्ने भाषामा प्रस्तुत गर्न सके मात्रै जनताले पार्टीका कुरा सुन्न थाल्ने उनले बताए।
परम्परागत शैलीमा मार्क्सवादलाई बोकेर अघि बढ्न नसकिने भन्दै उनले मार्क्सवादको सिर्जनात्मक प्रयोगको मान्यता अघि बढाइएको बताए। जनताको बदलिँदो चाहना र समाजको अवस्थाअनुसार पार्टीले आफ्ना विचार र नीतिलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।
साउन २३, २०८३ शनिबार १८:१८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।