दलित समुदायका थर सूचीकरण अघि मन्त्रालयद्वारा रायसुझाव आह्वान
काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भई आएका दलित समुदायका थरहरूको सूची सार्वजनिक गर्दै सरोकारवाला तथा आमनागरिकसँग रायसुझाव र प्रतिक्रिया मागेको छ।
आयोगले प्रचलित कानुनबमोजिम सूचीकरणका लागि सिफारिससहित पठाएको विवरणलाई मन्त्रिपरिषद्मा पेस गर्नुअघि मन्त्रालयले सर्वसाधारण, विज्ञ, सम्बन्धित समुदाय र सङ्घसंस्थाको सुझाव समेट्न सूची सार्वजनिक गरेको हो।
राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो।
मन्त्रिपरिषद्बाट सूचीकरणसम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सिफारिस भएका थरहरूको सूची सार्वजनिक गर्दै दुई दिनभित्र कुनै राय, सुझाव वा प्रतिक्रिया भए उपलब्ध गराउन अनुरोध गरेको छ।
सुझाव तथा प्रतिक्रिया मन्त्रालयको [email protected], महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री बादी तथा सचिवालयको इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्राप्त हुने रायसुझाव तथा प्रतिक्रियालाई आवश्यकताअनुसार अध्ययन गरी सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटिने जनाएको छ ।
साउन २३, २०८३ शनिबार १४:५४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।