एक महिनादेखि मेची राजमार्गको इलाम-राजदुवाली खण्ड अवरुद्ध, बिरामीलाई स्टेचरमै बोकेर पहिरो पार गराउँदै प्रहरी

एक महिनादेखि मेची राजमार्गको इलाम-राजदुवाली खण्ड अवरुद्ध, बिरामीलाई स्टेचरमै बोकेर पहिरो पार गराउँदै प्रहरी

इलाम : मेची राजमार्गअन्तर्गतको इलाम-राजदुवाली सडकखण्ड पहिरो र सडक भाँसिएका कारण विगत एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ।

गत असार २३ गते इलाम नगरपालिका-९ स्थित सो क्षेत्रमा माथिबाट लेदोसहितको ठूलो पहिरो खसेपछि सडक अवरुद्ध रहेको हो। सडक अवरुद्ध हुँदा इलाम सदरमुकामसहित छिमेकी जिल्लाहरू पाँचथर र ताप्लेजुङको झापासँगको सीधा यातायात सेवा रोकिएको छ।

निरन्तरको वर्षा र सडक भाँसिने समस्याका कारण सडक खुलाउन कठिनाइ भइरहेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार पहिरो पन्छाएर भाँसिएको ठाउँमा ग्राभेल गर्ने र भित्तातर्फ अस्थायी ड्रेन निर्माण गरी सडक खुलाउने प्रयास भइरहे पनि झरीका कारण काम प्रभावित भएको छ।

“पहिरो पन्छाएपछि भाँसिएका क्षेत्रमा पुरेर ग्राभेल गरी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ”, उनले भने, “वर्षाका कारण दलदलमा काम गर्न सकिँदैन । तीन-चार दिन घाम लागेपछि मात्र काम सुरु हुन्छ, तर काम सम्पन्न नहुँदै पानी परेर पुनःभाँसिने समस्याले हैरानी बनाइरहेको छ।”

सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले सडक खुलाउन प्रयास गरिरहेका छन्। अवरुद्ध सडक सञ्चालन गर्न सुरक्षाकर्मी, स्थानीयलगायतको सहकार्यमा प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए।

“सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उनले भने, “तर अलिकति पानी पर्नासाथ सडक भाँसिने प्रमुख समस्या छ ।” 

यात्रुलाई डेढ किलोमिटर पैदल यात्राको बाध्यता, प्रहरीद्वारा स्टेचरमार्फत सेवा

सडक अवरुद्ध भएपछि झापातर्फ जाने र आउने सवारीसाधनहरू माइखोलाका दुवै किनारसम्म मात्रै सञ्चालन भइरहेका छन्। जसका कारण यात्रुहरूले करिब डेढ किलोमिटर जोखिमपूर्ण पहिरो क्षेत्र पैदल नै पार गर्नुपर्ने बाध्यता छ।

अशक्त, ज्येष्ठ नागरिक तथा बिरामीहरूलाई भने सुरक्षाकर्मीले स्टेचरमा बोकेर पहिरो पार गराउँदै आएको प्रजिअ ढकालले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धार तथा सहयोगमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार असार १७ गतेदेखि स्थापना गरिएको सहायता कक्ष (हेल्पडेक्स) मार्फत प्रहरी निरीक्षक देविदत्त मोतेको नेतृत्वमा १० जना प्रहरी २४सै घण्टा आलोपालो गरी परिचालन गरिएका छन्।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी-सिमलगोलाई सडकअन्तर्गत जोगमाइ खोलामा समेत पुल नभएकाले समस्या भइरहेको प्रजिअ ढकालले उल्लेख गरे। घाम लागेका बेला अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिए पनि वर्षा हुनसाथ बाढीले डाइभर्सन बगाउने समस्याले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नभएको उनले बताए। 

उपभोग्य सामग्री र ग्यासको चरम अभाव, ढुवानी भाडा बढ्यो

सडक लामो समय ठप्प हुँदा इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको छ। उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलका अनुसार ठूला सवारीसाधन सञ्चालन हुन नसक्दा साना गाडीमार्फत ढुवानी गर्दा लागत बढेको छ। पहिले प्रतिकिलो दुई सयमा आउने सामानको ढुवानी खर्च अहिले पाँच सयदेखि छ सयसम्म पुगेको छ।

यसैगरी बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। पूरा सिलिन्डर आपूर्ति गर्दा वितरण प्रणाली प्रभावित भई विशेष गरी डेरामा बस्ने विद्यार्थीहरू मारमा परेका छन्। नियमित विद्युत् आपूर्ति नहुँदा विद्युतीय चुलोसमेत प्रयोग गर्न नसकिएको स्थानीयको गुनासो छ।

साउन २३, २०८३ शनिबार १३:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।