देशभर मनसुन सक्रिय : कोशी, बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय : कोशी, बागमती र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

यतिबेला कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा छ।

हाल बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित र कोशी, मधेस तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका धेरैजसो पहाडी भूभाग तथा अन्य प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ

 यसैगरी, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्नेछ। उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको समेत पूर्वानुमान गरिएको छ।

त्यस्तै, आज राति पनि देशभर मौसम बदली नै रहनेछ। कोशीदेखि सुदूरपश्चिमसम्मका तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ भने कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को उच्च जोखिम रहेको छ।

खराब मौसम र प्राकृतिक प्रकोपका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भन्दै महाशाखाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

साउन २३, २०८३ शनिबार ०७:३४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।