प्रहरी तथ्याङ्कले देखायो अपराधको यस्तो चित्र

प्रहरी तथ्याङ्कले देखायो अपराधको यस्तो चित्र

काठमाडौं : नेपाल प्रहरीले गत आर्थिक वर्ष २०८२/०८३ मा जबरजस्ती करणी र मानव बेचबिखनका घटनामा वृद्धि भएको जनाएको छ। 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा दुई हजार ३८० वटा जबरजस्ती करणी र २११ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका हुन्।

प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत वर्ष दुवै शीर्षकमा अपराधको संख्या बढेको छ। अघिल्लो वर्ष जबरजस्ती करणीमा दुई हजार २५३ र मानव बेचबिखनमा १५२ वटा मुद्दा दर्ता भएका थिए।

गत आर्थिक वर्षमा अन्य जघन्य अपराधतर्फ कर्तव्य ज्यानमा ५०६ र जबरजस्ती करणी उद्योगमा ३७४ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष कर्तव्य ज्यानमा ५१० र करणी उद्योगमा ४५९ मुद्दा दर्ता भएका थिए, जसको तुलनामा गत वर्ष यी घटनामा केही कमी आएको देखिन्छ।

यस्तै, अपहरणका घटना भने अघिल्लो वर्षको जति नै गत वर्ष पनि १४९ वटै दर्ता भएका छन्। संगठित अपराधतर्फका घटना भने घटेको प्रहरीको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष ३८ वटा संगठित अपराधका मुद्दा दर्ता भएकोमा गत वर्ष १८ वटा मात्र दर्ता भएको प्रहरीले जनाएको छ।

साउन २२, २०८३ शुक्रबार २२:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।