भारतबाट युरिया ल्याउँदा जरिवानामा परे किसान, कञ्चनपुरमा मल अभावको प्रश्न यथावत
महेन्द्रनगर : अघिल्ला वर्षका तुलनामा ४०० मेट्रिकटन रासायनिक मल उपलब्ध गराइए पनि व्यवस्थापन र वितरण कार्य विधिलाई बेवास्ता गरिएका कारण जिल्लामा मलको अभाव देखिएको गुनासो गरिएको छ।
कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका प्रबन्धक हेमराज जोशीले यस वर्ष सात हजार ५०० मेट्रिकटनभन्दा बढी अनुदानको मल बिक्री वितरण हुँदा पनि अभाव देखिनुलाई आफूले आश्चर्य मानेको प्रतिक्रिया दिए।
नौ वटा पालिका रहेको कञ्चनपुरमा गत वर्ष छ वटा पालिकामा सात हजार १०० मेट्रिकटन अनुदानको मल सहकारीमार्फत बिक्री वितरण हुँदा त्यस बेला मल अभावको स्वर नसुनिएको उनले स्पष्ट पारे।
स्थानीय बेलौरी, पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिकाका किसानले अनुदानको मल धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट लैजाने गरेका छन्।
शाखा प्रबन्धक जोशीले भने, “मल वितरणको विषय अनुसन्धान गर्नुपर्ने देखियो। पालिकाबाट अनुगमन आवश्यक छ। प्रशासन र हामीले मात्रै मल वितरणको नियमन गरेर पुगेन।”
कञ्चनपुरका छ वटा पालिकाकालाई ११० सहकारीमार्फत मल वितरण भइरहेको जानकारी दिँदै उनले भने, “सहकारीले पालिकाले तोकेको मूल्यभन्दा बढी रकम असुलेर मल वितरण गर्न पाइँदैन, सहकारीलाई युरिया प्रतिबोरा रु ९४४ मा उपलब्ध गराइएको छ।”
उक्त कार्यालयका अनुसार यस वर्ष गत वर्षभन्दा ५०० मेट्रिकटन युरिया मल बढी बिक्री भइसकेको छ। गत वर्ष पुर्नवास, लालझाडी र बेलौरीका किसानलाई महेन्द्रनगर शाखाबाटै मल वितरण गरिदा पनि सात हजार मेट्रिकटन वितरणले पुग्ने गरेको वितरण संस्थाले जनाएका छन्।
प्रबन्धक जोशीले भने, “यस पटक तीन वटा पालिकालाई घटाएर सात हजार ५०० मेट्रिकटन मल वितरण हुँदा अभाव देखिनुले वितरणमा अनियमितताले शङ्का पैदा गरेको छ।”
यसैबीच, कञ्चनपुरको बेलौरी नगरपालिका-२ गोकुलपुरका तीन जना किसान सीमावर्ती भारतीय बजारमा युरिया मल सहित बिहीबार पक्राउ परेकामा जरिवाना तिरेर फर्केका बेलौरी नगरपालिका-२ का अध्यक्ष कलबीर चौधरी पक्राउ जानकारी दिए।
उनका अनुसार, गोकुलपुरका धनबहादुर चौधरी, रमेश चौधरी र विकास चौधरीलाई भारतीय सुरक्षा बलले पक्राउ गरेकोमा उनीहरू जनही एक हजार जरिवाना तिरेर घर फर्किएका हुन्।
साउन २२, २०८३ शुक्रबार १७:२१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।