रास्वपा सांसद यादवको राजनीतिक अभिव्यक्तिले बिथोलियो श्रद्धाञ्जली सभा
काठमाडौं : सामाजिक सद्भाव र भाइचाराको सन्देश दिँदै सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका युवाहरूको स्मृतिमा बिहीबार सिरहाको गोलबजारस्थित उद्योग व्यापार संघको सभा हलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
सामाजिक तथा राजनीतिक व्यक्तिहरूको उपस्थिति रहेको श्रद्धाञ्जली सभालाई जिम्मेवार व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम थियो। जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश सभापति एवं सांसद तपेश्वर यादवले सम्बोधन थाले, त्यसपछि श्रद्धाञ्जली सभा तनावको वातावरण परिणत भयो।
सामाजिक सद्भाव कायमको सन्देश दिन आयोजित श्रद्धाञ्जली सभामा यादवले राजनीतिक अभिव्यक्ति दिन थालेपछि तनावको वातावरण सिर्जना भएको थियो। प्रत्यक्षदर्शीका अनुसार श्रद्धाञ्जली सभालाई राजनीतिक भाषणको थलो बनाउन नहुने भन्दै केही सहभागीहरू विरोध गरेपछि कार्यक्रम स्थलमा भनाभन भयो।
यादवले सुनसरी र सिरहामा भएका घटनापछि सरकारविरुद्ध अनावश्यक रूपमा प्रश्न उठाइएको तथा यसलाई सुनियोजित षड्यन्त्रको रूपमा व्याख्या गर्ने अभिव्यक्ति दिएपछि वातावरण बिग्रेको प्रत्यक्षदर्शीहरूको भनाइ छ। कार्यक्रमको उद्देश्य मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नु र सामाजिक सद्भाव कायम गर्नु भएकाले विवादास्पद राजनीतिक टिप्पणी गर्न नहुने आग्रह गरिएको थियो।
तर उनी रोकिन नमानेपछि विवाद बढ्दै गएपछि कार्यक्रम प्रभावित भएको थियो। त्यसपछि सांसद यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थलबाट बाहिरिएका थिए। सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपक्षी दलहरूले अनावश्यक रूपमा विषयलाई उचालेको बताएका छन्।
यता, मधेश प्रदेशका पूर्व सांसद जगतप्रसाद यादवले श्रद्धाञ्जली सभा सामाजिक सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले आयोजना गरिएको भए पनि राजनीतिक अभिव्यक्तिका कारण कार्यक्रमको वातावरण बिग्रिएको दाबी गरे।
आयोजकका अनुसार श्रद्धाञ्जली सभापछि गोलबजारमा सामूहिक सद्भाव र्याली निकाल्दै बजार क्षेत्रका पसल सञ्चालन गर्ने तयारी थियो। तर कार्यक्रममा उत्पन्न विवादपछि त्यससम्बन्धी कार्यक्रम प्रभावित भएको छ।
साउन २१, २०८३ बिहीबार १९:३६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।