सुरक्षा व्यवस्थापनका नाममा सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

सुरक्षा व्यवस्थापनका नाममा सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

काठमाडौं : जेनजी अभियन्ता मिराज ढुंगानाले देशमा हालै भएको साम्प्रदायिक झडप र सुरक्षा व्यवस्थापनका नाममा सेना परिचालन गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सामान्य घटनामा पनि सेनालाई सेनालाई परिचालन गरेर सरकारले सुरक्षा संयन्त्रको साख र जनविश्वास कमजोर बनाएको आरोप लगाए।

ढुंगानाले  साम्प्रदायिक तनाव नियन्त्रण गर्ने नाममा अत्यधिक बल प्रयोग गर्ने र प्रहरीलाई एसएलआर जस्ता हतियारसहित पठाउने प्रवृत्ति गलत रहेको बताए। उनले वर्तमान सरकारले सेनालाई सस्तो बनाएको आरोप समेत लगाए। 

उनले भने, "द्वन्द्व नियन्त्रण गर्न एसएलआर लिएर प्रहरीलाई पठाउने होइन। अझ सस्तो तरिकामा सेनालाई जङ्गी अड्डाबाट बाहिर निकाल्ने होइन। सेनालाई यति सस्तो बनाइयो कि सानो घटनामा पनि जङ्गी अड्डाबाट सेना निस्कन्छ भने सेनाको जुन वर्चस्व आजको दिनसम्म थियो, त्यो भोलि रहँदैन। जुन दिन सेनाप्रतिको विश्वास मानिसबाट हटाइन्छ, त्यसपछिको द्वन्द्व गर्ने मानिसले सेनादेखि डराउँदैनन्। सायद अलिकति दीर्घकालीन सोच राख्ने सरकार भएको भए सेनालाई यति सस्तो पार्ने थिएन।"

उनले भारतमा भएका आन्दोलनको तुलना गर्दै नेपालमा सामान्य झडपमै गोली चल्ने र नागरिकको ज्यान जाने स्थिति सिर्जना हुनु दुखद भएको बताए। साम्प्रदायिक द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरूप्रति लक्षित गर्दै उनले यस्ता घटनाको जिम्मेवारी प्रधानमन्त्री तथा वर्तमान सरकारले लिनुपर्ने धारणा राखे।

उनले भने, "भारतमा पनि जेनजी आन्दोलन भयो। त्यत्तिका मानिस बाहिर निस्कँदा पनि एक सय एक हतियार भएको देशमा एक जनाको ज्यान गयो। तर हाम्रो देशमा सानो साम्प्रदायिक झडपमा अन्धाधुन्ध गोली चल्छ र मृत्यु हुन्छ। यसको जिम्मा कसले लिन्छ, प्रधानमन्त्री वा सरकारले जिम्मा लिनुहुन्छ त? भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन्। यही घटनामा पनि जेनजीको ज्यान गएको छ। जेनजी आन्दोलन र यो आन्दोलन कसरी फरक भयो त?"

यस्तै, राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै अभियन्ता ढुंगानाले मधेशका मुद्दा उठाउने नेताहरूमध्ये सांसद अमरेश कुमार सिंह मात्रै निरन्तर रूपमा सक्रिय देखिएको दाबी समेत गरे।

साउन २१, २०८३ बिहीबार १७:२४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।