ग्यासको कृत्रिम अभाव सृजना गर्नेलाई कारबाहीको चेतावनी
पर्सा : बजारमा खाना पकाउने ग्यासमा अभाव देखिएको बेला जिल्ला प्रशासन कार्यालय पर्साले ग्यासको कृत्रिम अभाव सिर्जना गरिए कारबाही गर्ने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बिहीबार ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने बताए। पछिल्लो समय देशभर ग्यासको अभाव देखिएको छ।
नेपाल आयल निगमले ग्यासको नियमित आपूर्ति भइरहेकोले अभाव नरहेको र केही दिनमा सामान्य बन्ने दाबी गरिरहेको छ। तर, उपभोक्ताहरू ग्यास नपाएर नेपाल आयल निगमको कार्यालयमा लाइनमा बसिरहेका छन्।
बजारमा ग्यासको अभाव गराउनेलाई ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ एवं ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ बमोजिम मालसामान जफत, भारी जरिवाना र जेल सजायसमेतको कडा कानुनी कारबाही गर्न सकिने व्यवस्था छ।
साउन २१, २०८३ बिहीबार १६:४२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।