राष्ट्रिय सभामा 'ब्लु बस' बारेको प्रश्नमा मन्त्री बादीले भनिन् - "यो विभेद होइन, विशेष संरक्षण हो"

राष्ट्रिय सभामा 'ब्लु बस' बारेको प्रश्नमा मन्त्री बादीले भनिन् -

काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको बताएकी छन्।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले ‘ब्लु बस’ सेवा लैङ्गिक असमानतालाई प्रोत्साहन गर्ने नीति नभई महिलाको सुरक्षाका लागि अपनाइएको विशेष व्यवस्था भएको स्पष्ट पारिन्।

"सार्वजनिक यातायातमा महिलाले भोग्नुपरेको यौनजन्य दुर्व्यवहार, असुरक्षा र भिडभाडलाई तत्काल सम्बोधन गर्न यो सेवा ल्याइएको हो", मन्त्री बादीले भनिन्, "यो लैङ्गिक असमानता तर्फको कदम होइन, बरु जोखिम न्यूनीकरण गर्ने विशेष उपाय हो।"

मन्त्री बादीले विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु नै वास्तविक समानताको आधार भएको उल्लेख गर्दै समानताको अर्थ सबैलाई सधैं एउटै व्यवहार गर्नु मात्र नभएको बताइन्।

‘ब्लु बस’ सेवाले महिलालाई अन्य सवारीसाधन प्रयोग गर्न रोक नलगाउने र नियमित यातायात प्रणालीलाई पनि प्रतिस्थापन नगर्ने उनको भनाइ थियो।

सार्वजनिक यातायातलाई दीर्घकालीन रूपमा सुरक्षित र महिलामैत्री बनाउन प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी तथा यातायात व्यवसायीसँग समन्वय गरी कानुनी कार्यान्वयनलाई थप कडा बनाइने उनले जानकारी दिइन्। साथै, सार्वजनिक सवारीसाधनमा सीसीटीभी जडान, राइड–सेयरिङ एपमा ‘एसओएस’ बटनको व्यवस्था तथा अन्य सुरक्षा उपायहरूलाई पनि प्राथमिकताका साथ अघि बढाइने उनले बताइन्।

मन्त्री बादीले सरकार ‘ब्लु बस’ सञ्चालनमा मात्र सीमित नरही समग्र सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, समावेशी र महिलामैत्री बनाउन आवश्यक नीतिगत तथा संरचनात्मक सुधारमा सक्रिय रहेको उल्लेख गरिन्।

साउन २१, २०८३ बिहीबार १४:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।