सर्लाहीमा अनुदानको मल कालोबजारी गर्ने तीन जना पक्राउ

सर्लाहीमा अनुदानको मल कालोबजारी गर्ने तीन जना पक्राउ

सर्लाही : सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराएको डीएपी मल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

मलंगवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोरबाट प्रतिबोरा तीन हजार पाँच सय रुपैयाँका दरले अनुमति बिना अनुदानको मल बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा प्रहरीले मलंगवा–७ का २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन रायलाई ५०–५० किलोका चार बोरा डीएपी मलसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त मल मलंगवा नगरपालिका–३ निवासी २८ वर्षीय राहुल गुप्ताको पसलबाट प्रतिकिलो ३२ सय रुपैयाँका दरले खरिद गरी ल्याइएको र ३५ सयमा बिक्री गर्ने गरेको खुलेको छ। त्यसपछि गुप्ताको पसलमा खानतलासी गर्दा सात बोरा डीएपी मल बरामद गरिएको थियो।

बरामद मलसहित तीनै जनालाई पक्राउ गरी कालोबजारीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।

साउन २१, २०८३ बिहीबार १०:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।