नेपाल रेडक्रस अनियमितता छानबिन : उजुरी दिने म्याद २० दिन थप
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले आफू मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र बेथिति सम्बन्धमा उजुरी पेस गर्ने समय सीमा २० दिन थप गरेको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सोसाइटीले तथ्य र प्रमाणसहित उजुरी आह्वान गर्न समय थप गरिएको जानकारी दिएको हो।
यसअघि ३५ दिनको म्याद दिएर सूचना जारी गरिएकोमा उजुरी आउने क्रम जारी रहेकाले भदौ ३ गते बुधबारसम्म उजुरी दिन सकिने गरी म्याद बढाइएको छ। रेडक्रसले संस्थाभित्रको भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ को नीति लिइएको र संस्थाको साख जोगाउन निष्पक्ष छानबिन थालिएको जनाएको छ।
प्राप्त उजुरीहरूको अध्ययन तथा छानबिनका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं भ्रष्टाचारविरुद्धका विज्ञ डा. दिपेश घिमिरेको नेतृत्वमा टोली गठन गरिएको छ। उक्त समितिमा अधिवक्ता यशस्वी थापा र चार्टर्ड एकाउन्टेन्ट सतिश सुवेदी सदस्य रहेका छन्।
छानबिन टोलीले उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता जनाएको छ।
साउन १९, २०८३ मंगलबार १८:०१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।