बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं : लगातारको वर्षा, बाढी र पहिरोका कारण मुलुकका पाँच प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। मनसुनी विपद्का कारण सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवतजावत प्रभावित बनेको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ र काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलो खोलास्थित सितापाइला–धार्के सडकखण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण ठप्प भएका हुन्। 

बन्द सडक सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ। प्रहरीले अवरुद्ध सडकको विकल्पमा  वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। 

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ।

यसैगरी, बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा  बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ।

कान्तिलोकपथअन्तर्गत हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने बाटो) तथा कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध रहेको  प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। 

साउन १९, २०८३ मंगलबार १३:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।