‘वामपन्थीले इतिहासको गुनगान धेरै गायौं, तर पाठ सिक्न सकेनौं’

‘वामपन्थीले इतिहासको गुनगान धेरै गायौं, तर पाठ सिक्न सकेनौं’

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले इतिहासबाट पाठ सिक्न नसक्दा र वामपन्थी दलहरूबीचको घृणाको राजनीतिका कारण कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।

२४औँ बोत्ले स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासको गौरवगानमा मात्र अल्झिने तर त्यसबाट प्राप्त शिक्षालाई वर्तमानका चुनौती सामना गर्न प्रयोग नगर्दा आन्दोलनमा संकट देखिएको धारणा राखे।

"हामीले हाम्रो इतिहासको गुनगान त धेरै गायौं, तर इतिहासबाट पाठ सिक्न सकेनौं," उनले भने, "त्यसै कारण आज कम्युनिष्ट आन्दोलन संकटमा छ, रक्षात्मक अवस्थामा छ। इतिहासको भारी बोकेर होइन, इतिहासले दिएको शिक्षाका आधारमा वर्तमानका चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्दै भविष्यको संकल्पका साथ आन्दोलनलाई अघि बढाउन सके मात्रै आन्दोलनले जीवन्तता प्राप्त गर्न सक्छ।"

पोखरेलले वामपन्थी दलहरूबीच चल्ने अस्वस्थ गालीगलौज र घृणायुक्त भाषाले आम मतदातामा नकारात्मक सन्देश प्रवाह गरिरहेको टिप्पणी गरे। दलहरू मिल्दा अति आत्मीयता प्रदर्शन गर्ने र मतभेद हुँदा एकअर्कालाई शत्रुको रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले वामपन्थी मतदाताहरू टाढिएको उनको विश्लेषण छ।

"मिल्दा अँगालो हाल्ने र नमिल्दा शत्रुवत् व्यवहार गर्ने प्रवृत्तिका कारण मतदाता भड्किएका हुन्," पोखरेलले थपे, "यो सत्यलाई नबुझी जे बोले पनि जनताले मन पराउँछन् भन्ने मान्यता राख्नु गलत हुन्छ।" राजनीतिक मतभेदका बीच पनि न्यूनतम संस्कार कायम राख्नुपर्नेमा जोड दिँदै पोखरेलले असहमतिलाई शत्रुताको रूपमा चित्रण गर्ने शैली वामपन्थी नेताहरूले त्याग्नुपर्ने धारणा राखे। 

साउन १८, २०८३ सोमबार २०:०५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।