सुनकोशीमा खसेको कार र बेपत्ता यात्रुको खोजीमा गोताखोर टोली परिचालन
सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार व्यक्तिको खोजीका लागि गोताखोरसहितको टोली परिचालन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन भएको हो। उद्धार तथा खोजी कार्यमा नेपाल प्रहरीको टोली पनि संयुक्त रूपमा खटिएको छ।
खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।
दुर्घटनामा कारसहित त्यसमा सवार तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ का २८ बर्षिय गणेश थापा र वतन नखुलेका अर्का एक जना रहेका छन्।
दुर्घटनापछि ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
साउन १८, २०८३ सोमबार १६:४१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।